सजिलो छैन नेकपा महाधिवेशन - Heal Of News

सजिलो छैन नेकपा महाधिवेशन

काठमाडौं : सत्तारूढ दल नेकपाले तत्कालीन पार्टी एकता घोषणा गरिरहँदा दुई वर्षभित्र पार्टी महाधिवेशन गर्ने लक्ष्य निर्धारण गर्‍यो। दुई वर्षको त्यो भाका नाघ्यो, तर महाधिवेशन त के पार्टी एकता, एकीकरणकै काम अहिलेसम्म टुंगिन सकेन। मंसिरमै अर्ली महाधिवेशनको

प्रस्ताव आयो। दुवै अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको सहमतिमा मंसिरमै महाधिवेशनको मिति तोकिएन। अहिले फेरि चैतमा महाधिवेशनको प्रस्ताव भएको छ। गत माघ १५ देखि १९ गतेसम्मको नेकपा केन्द्रीय समितिको दोस्रो बैठकले पारित गरेको कार्यतालिकामा महाधिवेशन गर्ने प्रतिवेदन बुझाइएको छ। कार्यदलले आगामी चैत २५देखि ३० सम्म महाधिवेशन गर्ने सुझाव दिएको छ। उक्त प्रस्तावलाई नेकपाले १८ भदौको सचिवालयमा छलफल गर्दैछ। त्यसपछि यसै प्रस्तावलाई आवश्यक ठानिए काँटछाँट गरेर १३ साउनदेखि अवरुद्ध बनेको स्थायी समिति बैठकमा लगेर पारित गर्ने नेताहरूको योजना छ। त्यसो गर्दा असोज १५ देखि १७ सम्म काठमाडौंमा केन्द्रीय समिति बैठक राखेर महाधिवेशन लक्षित कार्यक्रम बनाउने सुझाव कार्यदलको छ। ४ सय ४१ सदस्यीय केन्द्रीय समितिको बैठक तोकिएकै मितिमा हुने नहुने कोभिडको अवस्थाले निर्धारण गर्ने नेकपा नेताहरू बताउँछन्। गत वैशाखदेखि पार्टी नेताहरूकै बीचमा तीव्र शक्ति संघर्ष चल्यो। नेताहरूले यो संघर्षको वैधानिक अवतरण महाधिवेशनबाट खोजेका छन्।

अहिलेको अवस्था र अबको आठ महिनामा महाधिवेशन गर्न नेकपालाई निक्कै चुनौती देखिन्छ। ‘निक्कै चुनौतीपूर्ण अवस्था छ, हाम्रो चाहनाले मात्र भन्दा पनि समयले कुन रूप लिन्छ, त्यसले महाधिवेशन चैतमा हुने नहुने निर्धारण गर्छ’, नेकपा स्थायी समिति सदस्य सत्यनारायण मण्डल भन्छन्, ‘चैतमा महाधिवेशन सम्पन्न गर्ने मिति केन्द्रीय समितिले तोकेकै हो। तर, त्यसको के कति तयारी भयो ? कोभिडले कस्तो असर र प्रभाव पार्छ ? त्यसले यसबारेमा अहिले नै यसै भन्न सक्ने अवस्था छैन।’२०७५ जेठ ३ मा तत्कालीन एमाले र माओवादीका बीचमा एकता हँुदा पार्टी एकता एकीकरणको काम तीन महिनाभित्र टुंग्याउने, दुई वर्षभित्र एकताको महाधिवेशन गर्ने सहमति भएको थियो। एकता गर्दा स्थगित राखिएका जनताको बहुदलीय जनवाद, एक्काइसौं शताब्दीको जनवाद र माओवादका विषयमा महाधिवेशनमा व्यापक छलफल र बहसबाट टुंगोमा पुग्ने गरी पार्र्टी एकता भएको थियो। तर, २७ महिना बित्दासमेत नेकपाले केन्द्र्रीय विभाग, विशेष प्रदेश, जिल्ला मातहात महानगर कमिटी, स्वायत्त कमिटीदेखि जबस मोर्चाको केन्द्रीय निकायसम्मका संरचना अझै टुंगिएको छैन। महाधिवेशन पूर्वनेकपाले एकताको काम टुंग्याउनु पर्ने हुन्छ।

महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले अबको एक महिनाभित्र पार्टी विधान र नियमावलीको व्यवस्था र निर्धारित मापदण्डका आधारमा एकता-एकीकरणका बाँकी काम सम्पन्न गर्न सुझाएको छ। त्यसैगरी केन्द्रीय तहका कमिटी, जनवर्गीय संगठन र प्रवास क्षेत्रको संठनात्मक एकीकरण गर्नुपर्ने सुझाव दिएको छ। सो सुझावका आधारमा नेकपा अगाडि जान सक्छ, सक्दैन अझै नेताहरूमा शंका छ। ‘एकता एकीकरणका काम तीन महिनामा सक्ने भनियो, पटक पटक मिति तोकियो, १५ दिनभित्र सक्ने केन्द्रीय समितिले नै भनेको हो, स्थायी समितिले पनि भनेकै थियो, तर अझै बाँकी नै छ’, अर्का एक स्थायी समिति सदस्यले भने। अहिले पनि कार्यदलको सुझावका आधारमा हुन्छ हुँदैन भनेर भनिहाल्ने अवस्था नरहेको उनको भनाइ छ।

एकता सम्पन्न भएको यो अवधिसम्म तत्कालीन पार्टीका चल, अचल सम्पत्ति एकीकरण गर्ने र अभिलेख गर्ने काम पनि भएको छैन। पार्टीसँग संगठित सदस्य कति संख्यामा छन भन्ने यकिन तथ्यांक नेकपासँग छैन। झन्डै आठ लाख संगठित सदस्य रहेको जिकिर नेताहरूले गरेका छन्। तर तत्कालीन माओवादी तर्फका पार्टी सदस्यको कुनै व्यवस्थित अभिलेख नभएका कारण केन्द्रीय कार्यालयसँग यसको कुनै अभिलेख छैन। ‘तत्कालीन माओवादी तर्फका नेता कार्यकर्ता के कति संख्यामा संगठित थिए, त्यसको कुनै अभिलेख नै देखिन्न, न उहाँहरूका अभिलेख छ, न माइन्युट नै। फौजी खालको संरचना, एउटा नेताले जे भन्यो, त्यहीअनुसार चल्ने खालको संरचना थियो, त्यसरी व्यवस्थित अभिलेख नहुँदा कठिन र अप्ठ्यारो अवस्था छ’, स्थायी समिति सदस्य मण्डलले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *